काठमाडौं । तारकेश्वर नगरपालिकाले तारकेश्वरका स्थायी बासिन्दाहरुका लागि सुत्केरी, जेष्ठ नागरिक सहारा र मृत्यु संस्कार भत्ता नगरपालिकाले दिने घोषणा गरेको छ ।
नगरसभाको १६ औँ अधिवेशनले नगरपालिकाभित्र स्थायीरूपमा बसोवास गर्ने नागरिकहरुका लागि यही २०८२ साल बैशाख महिनाबाट लागू हुने गरी कोखदेखि शोक कार्यक्रम अन्तर्गत कोख, जेष्ठता सहायता र शोक कार्यक्रमको नीति सार्वजनिक गरेको छ ।कोख कार्यक्रम अन्तर्गत बच्चा जन्माउनेहरूका लागि एकपटकमा ५ हजार नगद नगरपालिकाले उपलब्ध गराउने छ, त्यस्तै जेष्ठता नागरिक सहायता कार्यक्रम अन्तर्गत नगरपालिका भित्र स्थायी बसोबास गर्ने ८० वर्ष माथिका बृद्ध–बृद्धालाई सम्मान तथा सहारास्वरुप प्रति ब्यक्ति रु. २ हजार नगद नगरपालिकाले उपलब्ध गराउने भएको छ ।
शोक कार्यक्रम अन्तर्गत नगरपालिका भित्र स्थायी बसोवास गरेका कुनै पनि परिवारका सदस्यहरुको निधन हुन पुगेमा दाहसंस्कार वा काजक्रिया खर्च वापत प्रति ब्यक्ति रु. १० हजार उपलब्ध गराउने भएको छ ।
